साथीलाई चिठी

By Notes Vandar

साथीलाई चिठी

शब्दभण्डार

१. दिइएका अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस्।

मलेसियाको मुद्रा : रिङ्गेट
विदेश : परदेश
नागरिक नभएको अवस्था : अनागरिक
मर्न लागेकालाई बचाउने : मृतसञ्जीवनी
सफा : कञ्चन
उथलपुथल : उद्वेलित
कार्य गर्ने क्षमता भएको : सामर्थ्य
जन्मेको ठाउँ : जन्मथलो

२. दिइएका शब्दहरूको अर्थ चिनेर जोडा मिलाउनुहोस्।

रहर : इच्छा, एक किसिमको दाल
काम : कम्प, कार्य
पत्र : चिठी, तह
कडी : सानो कडा वा मुन्द्रो, जुक्ती
अन्तर : भिन्नता, भित्री हृदय

३. दिइएका अनेकार्थी शब्दहरूको एकभन्दा बढी अर्थ लेख्नुहोस्।

मास : महिना, एक प्रकारको दाल
खरी : एक प्रकारको रुख, लेख्न प्रयोग गरिने सेतो पत्थर, मादल तबला आदिमा लगाइने मसला
ताल : पोखरी, चाल, बाजाको मात्रा, मौका
खाग : गैँडाको नाकमाथिको मूल्यवान अङ्ग, अग्राख, जान्नेसुन्ने व्यक्ति
फेरी : हरिणको सिङबाट बनाइएको बाजा, प्रदक्षिणा
साँचो : सत्य, ताल्चा खोल्ने साधन
कछाड : छोटो धोती, पहाडको तल्लो भाग
अर्थ : मतलब, प्रयोजन, धन
चरण : तह, पाउ, श्लोकको एक पङ्क्ति
काल : समय, मृत्यु

४. दिइएका पदावलीलाई अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्नुहोस्।

कहाली लाग्नु : मलाई बुढापाकाको कहानी सुन्दा कहाली लाग्छ।

टपाटप टिप्नु : तिहारका लागि राखिएको फूल भाइले टपाटप टिपेछ।

महिना मर्नु : बुबाले महिना मरेपछि मोबाइल किनिदिन्छु भन्नुभयो।

रोइकराइ गर्नु : रामले रोइकराइ गरेर घुम्न जान्छु भनी बुबालाई फकायो।

वितृष्णा पलाउनु : सधैँ घरको झगडा सुन्दा सीतालाई पढाइप्रति वितृष्णा पलाउन थाल्यो।

हातमुख जोड्नु : धेरै नेपालीलाई हातमुख जोड्न गाह्रो भएकाले विदेश जानु परेको छ।

उजुरी गर्नु : सीतामाथि हातपात भएपछि रामुकाकाले प्रहरीमा उजुरी गर्नुभयो।

श्रम स्वीकृति लिनु : वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनु आवश्यक हुन्छ।

अवैधानिक : गाँजाको व्यापार गर्नु अवैधानिक काम हो।

बदला लिनु : साथीसँग झगडा भएपछि हरि बदला लिन मौका कुरेर बसेको छ।

सहारा बन्नु : हामी सबैले बुढेसकालमा आमाबुबाको सहारा बन्नुपर्छ।

बोध र अभिव्यक्ति

१. पाठ पढी दिइएका प्रश्नहरूको उत्तर दिनुहोस्।

क) चिठीमा कतिवटा अनुच्छेद रहेका छन् ?
चिठीमा जम्मा सातवटा अनुच्छेद रहेका छन्। प्रत्येक अनुच्छेदमा म पात्रको जीवनका फरक–फरक अनुभव, भावना र विचार क्रमशः प्रस्तुत गरिएका छन्, जसले चिठीलाई सुसङ्गत र प्रभावकारी बनाएको छ।

ख) चिठीको आदि, मध्य र अन्त्य भागमा कस्ता विषयवस्तु छन् ?
चिठीको आदि भागमा वैदेशिक रोजगारीप्रति युवाहरूमा रहेको मोह र आकर्षण प्रस्तुत गरिएको छ। मध्य भागमा वैदेशिक रोजगारीले दिएको क्षणिक सुख, मोजमस्ती, कमाइसँगै भोग्नुपरेका पीडा, अपमान र वितृष्णाको अनुभव वर्णन गरिएको छ। अन्त्य भागमा भने स्वदेशप्रतिको प्रेम, आफ्नै माटोमा श्रम गरेर जीवन निर्वाह गर्ने चाहना र देश विकासमा योगदान दिने अठोट व्यक्त गरिएको छ।

ग) पूर्णविक्रमले सुरुका दुई–तीन वर्ष विदेशमा कसरी बिताए ?
पूर्णविक्रमले सुरुका दुई–तीन वर्ष विदेशमा मोजमस्ती, रमाइलो र खर्चिलो जीवनशैलीमा बिताए। सजिलै पैसा कमाइने भ्रममा परेर उनले भविष्यको सोच नगरी विलासी जीवन जिए, जसका कारण बचत गर्न सकेनन् र पछि कठिनाइ भोग्नुपर्‍यो।

घ) पूर्णविक्रम कस्तो सपना बोकेर विदेश गएका थिए ?
पूर्णविक्रम परदेशमा सुनको बोटबाट टपाटप पैसा टिपेझैँ सजिलै धनी बन्न सकिन्छ भन्ने अवास्तविक सपना बोकेर विदेश गएका थिए। उनले विदेशलाई दुःखरहित र समृद्धिको छोटो बाटो ठानेका थिए।

ङ) चिठीमा के–के अङ्गहरू हुन्छन्, लेख्नुहोस्।
चिठीमा मिति, ठेगाना, सम्बोधन, शिष्टाचार, मुख्य विवरण, समापन र खामको नमुना जस्ता अङ्गहरू हुन्छन्। यी अङ्गहरूले चिठीलाई औपचारिक, स्पष्ट र व्यवस्थित बनाउँछन्।

२. ‘दिनहरू … हुने छु’ चिठीको अंश पढी खाली ठाउँमा छुटेका शब्द भर्नुहोस्।

दुई महिनापछि काममा फर्कँदा कम्पनीले पनि राखेन।
त्यति बेला मात्र मलाई थाहा भयो, देश र परदेशको अन्तर, नागरिक हुनु र अनागरिक हुनुको अन्तर।
जीवनप्रति वितृष्णा पलाइरहेको थियो।
छिट्टै नेपाल फर्केर आफ्नै माटोमा परिश्रम गरी जीवन निर्वाह गर्ने विचारमा छु।
अबको तीन महिनाभित्र म आफ्नो जन्मथलो, आफ्ना आमाबुबाको काख र प्रियजनहरूको माझमा हुने छु।

३. ‘अहिले म सम्झन्छु … सार्थक बनाउँछु’ चिठीको अंश पढी दिइएका प्रश्नहरूको उत्तर लेख्नुहोस्।

क) नेपालको जलराशिमा कस्तो सामर्थ्य रहेको छ ?
नेपालको जलराशिमा संसारभरिका मानिसहरूको प्यास मेटाउन सक्ने अपार सामर्थ्य रहेको छ। जलविद्युत् उत्पादन र सिँचाइमार्फत देशको समृद्धिमा ठूलो योगदान दिन सक्ने क्षमता नेपालका नदी–नालामा छ।

ख) हाम्रो देशको विकासले गति लिन नसक्नुको कारण के हो ?
देशका जनतामा दृढ इच्छाशक्ति, इमानदार प्रयास र सामूहिक सहकार्यको अभाव भएकाले हाम्रो देशको विकासले अपेक्षित गति लिन नसकेको हो।

ग) परदेशमा सिकेको सिपले कसरी देश विकास गर्न सकिन्छ ?
परदेशमा सिकेको सिप आफ्नै देशमा प्रयोग गरी स्वरोजगार सिर्जना गर्न, अरूलाई तालिम दिन र उत्पादन बढाउन सकिन्छ। यसरी सिपको सदुपयोग गरेर देश विकासमा योगदान पुर्‍याउन सकिन्छ।

घ) देश विकासको मूल मन्त्र के रहेछ ?
देश विकासको मूल मन्त्र सबै नागरिकले हातेमालो गर्दै इमानदारीपूर्वक काम गर्नु नै रहेछ।

ङ) म पात्र किन घर फर्कन चाहेको हो ?
वैदेशिक रोजगारीप्रति वितृष्णा जागेर, अपमान र असुरक्षाको अनुभव भएपछि म पात्र घर फर्कन चाहेको हो।

४. दिइएको चिठीको अंश पढी प्रश्नहरूको उत्तर दिनुहोस्।

क) म पात्रले गरेका सही र गलत निर्णय के–के थिए ?
म पात्रले गरेको सही निर्णय वैदेशिक रोजगारी त्यागेर परिवार, गाउँ र देश सम्झेर घर फर्कनु हो। गलत निर्णयमा सजिलै पैसा कमाउने लोभमा विदेशिनु, घरपरिवार बिर्सनु र कमाइको सही व्यवस्थापन नगर्नु पर्दछन्।

ख) म पात्रको घर फर्कने निर्णयप्रति तपाईंको धारणा लेख्नुहोस्।
म पात्रको घर फर्कने निर्णय अत्यन्त सही र प्रेरणादायी छ। यसले विदेशिन हतार गर्ने युवाहरूलाई आफ्नै गाउँठाउँ र देश बनाउने सोचतर्फ आकर्षित गर्छ र देशभक्तिको भावना जागृत गराउँछ।

५. पूर्णविक्रमको ठाउँमा तपाईं हुनु भएको भए के गर्नुहुन्थ्यो ? आफ्नो विचार प्रस्तुत गर्नुहोस्।
यदि पूर्णविक्रमको ठाउँमा म भएको भए, केवल पैसा कमाउने लोभमा आफ्नो देश र आमाबुबालाई छाडेर विदेश जाने थिएन। पढाइ सकेर आफ्नै देशमा केही सिर्जनात्मक काम गर्थे। यदि बाध्यताले विदेश जानुपरेको भए पनि सिकेको सिप र कमाइ स्वदेशमा लगानी गरी स्वरोजगार बन्थे। अन्य युवाहरूलाई पनि देशमै अवसर खोज्न प्रेरित गर्थे र विदेशमा सिकेका सिपहरूको सदुपयोग स्वदेशमै गर्थे।

बोध र अभिव्यक्ति

६. तपाईँ सुरज हुनुभएको भए चिठीको प्रतिउत्तर कसरी दिनुहुन्थ्यो ? लेख्नुहोस्।

मिति : २०७७–०१–२६
पोखरा, गण्डकी प्रदेश
नेपाल

प्रिय मित्र पूर्णविक्रम,
धेरै धेरै माया तथा मिठा सम्झनाहरू।

म यहाँ कुशल छु। तपाईं पनि कुशलमंगल हुनुहुन्छ भन्ने आशा लिएको छु। तपाईंले पठाउनुभएको चिठी गत महिना प्राप्त भयो। चिठी पढिसकेपछि म अत्यन्तै खुशी भएँ। केही समय बाटो बिराएका मेरो मित्रको आज आँखा खुलेको र भ्रमको पर्दा हटेको देख्दा मन हर्षले भरियो।

तपाईंले विदेशमा सिकेका सिप स्वदेश फर्किएर प्रयोग गर्ने निर्णय लिनु भएको कुरा अत्यन्तै सराहनीय छ। तपाईं यहाँ फर्कनुहोस्, मैले सक्ने आर्थिक तथा नैतिक सहयोग अवश्य गर्नेछु। तपाईंले यहाँका युवाहरूलाई विदेश जानु नै समाधान होइन भन्ने सन्देश दिन सक्नु भयो भने हाम्रो गाउँ छिट्टै विकासको बाटोमा अघि बढ्नेछ। युवाहरूलाई सिप सिकाएर रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्न सकिन्छ।

ढिलो भए पनि तपाईंले आफ्ना गल्तीहरू मनन गर्नुभएकोमा मलाई अत्यन्तै खुशी लागेको छ। स्वदेश र परदेशको अन्तर बुझ्नुभएको रहेछ। विदेशमा भोग्नुपरेका दुःखका कुरा सुन्दा मन दुख्यो, तर तपाईंको घर फर्कने निर्णय अत्यन्त स्वागतयोग्य छ। अब स्वदेश फर्किन ढिलाइ नगर्नु होला। धेरै कुरा भेटेरै गरौँला। आजका लागि यतिमै कलम बन्द गर्दछु।

उही तपाईंको मित्र
सुरज नेपाल

७. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्।

क) मूल्याङ्कन भनेको के हो ?
मूल्याङ्कन भनेको शैक्षिक उद्देश्यहरू कुन हदसम्म प्राप्त भएका छन् भन्ने कुरा पत्ता लगाउने प्रक्रिया हो। यसले शिक्षण–सिकाइ प्रक्रियाको गुणस्तर मापन गरी सुधारका उपायहरू सुझाउने भएकाले शिक्षण–सिकाइको अभिन्न अङ्ग हो।

ख) निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनबीच के फरक छ ?
निर्माणात्मक मूल्याङ्कन शिक्षण–सिकाइ कार्यक्रम सञ्चालन भइरहेकै बेला औपचारिक वा अनौपचारिक रूपमा गरिन्छ र विद्यार्थीलाई पृष्ठपोषण दिइन्छ। निर्णयात्मक मूल्याङ्कन भने शिक्षण–सिकाइ कार्यक्रमको अन्त्यमा विद्यार्थीको उपलब्धि मापन गरी स्तर निर्धारण गर्दै प्रमाणपत्र प्रदान गर्न गरिन्छ।

ग) प्रमाणपत्र दिने परीक्षा किन आवश्यक छ ?
प्रमाणपत्र दिने परीक्षा विद्यार्थीले पाठ्यक्रमअनुसार आवश्यक ज्ञान, सिप र क्षमता हासिल गरेको छ वा छैन भन्ने निर्णय गर्न आवश्यक हुन्छ। यसले विद्यार्थीको शैक्षिक स्तर निर्धारण गरी भविष्यका अवसरहरू सुनिश्चित गर्दछ।

घ) ‘पाठ्यक्रम’ र ‘पृष्ठपोषण’ शब्दको अर्थ लेख्नुहोस्।
पाठ्यक्रम : शिक्षण–सिकाइका उद्देश्य, विषयवस्तु, क्रियाकलाप र मूल्याङ्कन समेटिएको योजनाबद्ध दस्तावेज
पृष्ठपोषण : गरिएको कार्यमा सुधार गर्न दिइने सुझाव वा सहायता

८. गाउँको विकासका लागि पर्यावरणमैत्री सडक आवश्यक छ भन्ने कुरा खुलाउँदै साथीलाई चिठी लेख्नुहोस्।

मिति : २०७७–०१–२६
पोखरा, गण्डकी प्रदेश
नेपाल

प्रिय साथी,
हार्दिक अभिवादन।

म यहाँ सन्चै छु। तिमी र तिम्रो परिवार पनि सन्चै हुनुहुन्छ भन्ने कामना गर्दछु। तिमीले गाउँको विकासका लागि पर्यावरणमैत्री सडकको आवश्यकताबारे जान्न चाहेको चिठी प्राप्त भयो। त्यसै विषयमा यो पत्र लेख्दै छु।

पर्यावरण भनेको जैविक र अजैविक वस्तुहरूको सामूहिक अन्तरसम्बन्ध हो। विकासका नाममा वातावरण नष्ट गर्नु उचित हुँदैन। गाउँको विकासका लागि सडक आवश्यक भए पनि रुखविरुवा अन्धाधुन्ध काट्नु हुँदैन। काट्नै परेमा वरिपरि वृक्षारोपण गर्नुपर्छ। धुलोमैलो कम हुने, पहिरो नलाग्ने र स्वास्थ्यमा असर नपार्ने ढङ्गले सडक निर्माण गर्नुपर्छ।

त्यसैले वातावरण संरक्षण गर्दै विकास गर्नु आजको आवश्यकता हो। तिमी पनि यस विषयमा आफ्ना विचार लेखेर जवाफ पठाउनेछौ भन्ने आशा गर्दछु।

तिम्री साथी
सुनबी पोखरेल

९. साहित्य क्षेत्रमा योगदान गरेका कुनै एक व्यक्तिलाई प्रदान गरिने अभिनन्दन पत्रको नमुना तयार पार्नुहोस्।

अभिनन्दन पत्र

श्री राम चरणज्यू,
नेपाली साहित्यको अध्ययन, अनुसन्धान तथा सिर्जनाको क्षेत्रमा तपाईंले पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर गर्दै यो अभिनन्दन पत्र प्रदान गरिएको छ। कविता, कथा, निबन्ध र उपन्यासमार्फत नेपाली साहित्यलाई समृद्ध बनाउने तपाईंको निरन्तर साधना सबैका लागि प्रेरणादायी छ। तपाईंको सुस्वास्थ्य, दीर्घायु र थप सिर्जनात्मक यात्राको कामना गर्दै हार्दिक सम्मानका साथ यो अभिनन्दन पत्र प्रदान गर्दछौँ।

साहित्य समाज, नेपाल

१०. सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिने सम्मान पत्रको नमुना तयार पार्नुहोस्।

सम्मान पत्र

श्री राम चरणज्यू,
भक्तपुर नगरको सामाजिक क्षेत्रमा देखिएका विभिन्न समस्याहरूको समाधानका लागि तपाईंले पुर्‍याउनुभएको निस्वार्थ सेवाको उच्च कदर गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ। तपाईंको सहयोगी, मिलनसार र प्रेरणादायी व्यक्तित्व समाजका लागि अनुकरणीय छ। तपाईंको योगदानको सम्मानस्वरूप यो पत्र प्रदान गर्दछौँ।

मध्यपुर ठिमी नगरपालिका, भक्तपुर

व्याकरण

१. दिइएको अनुच्छेदमा प्रयोग भएका लेख्य चिह्नहरू पहिचान गर्नुहोस्।
उद्धरण चिह्न, अर्धविराम चिह्न, विस्मयसूचक चिह्न, अल्पविराम चिह्न, प्रश्नचिह्न

२. दिइएका वाक्यहरूमा आवश्यक लेख्य चिह्न प्रयोग गर्नुहोस्।

क) मैले घर बाटो फूल मान्छे र गाडीहरुको चित्र बनाएको छु ।
मैले घर, बाटो, फूल, मान्छे र गाडीहरुको चित्र बनाएको छु ।

ख) तिमी यहाँ बस चकचक नगर
तिमी यहाँ बस , चकचक नगर ।

ग) हामीले सुखदुःख रातदिन जीवनमरण जस्ता आइरहने गइरहने कुरा हुन् भन्ने बुझ्नुपर्छ ।
हामीले सुख-दुःख , रात-दिन , जीवन-मरणजस्ता आइरहने-गइरहने कुरा हुन् भन्ने बुझ्नुपर्छ ।

घ) तिमी र उसले के काम गर्‍यौ ।
तिमी र उसले के काम गर्‍यौ ?

ङ) अहा कति सुन्दर जीवन
अहा! कति सुन्दर जीवन ।

च) अग्लो होचो टाढा नजिक वर पर आदि विपरीतार्थी शब्द हुन्
अग्लो – होचो , टाढा – नजिक , वर – पर आदि विपरीतार्थी शब्द हुन् ।

छ) म तुरुन्तै फर्किहाल्छु उसले भन्यो
” म तुरुन्तै फर्किहाल्छु ” उसले भन्यो ।

ज) मेरो देशको नाम हो नेपाल
मेरो देशको नाम हो – नेपाल ।

झ) क्रियाहरुलाई कर्मप्रदानताका आधारमा दुई किसिममा बाँड्न सकिन्छ :
क) सकर्मक ख) अकर्मक
क्रियाहरुलाई कर्मप्रधानताका आधारमा दुई किसिममा बाँड्न सकिन्छ :-
क) सकर्मक ख) अकर्मक

ञ) उक्ति कथन दुई किसिमका हुन्छन् प्रत्यक्ष र अप्रत्यक्ष कथन
उक्ति कथन दुई किसिमका हुन्छन् – `प्रत्यक्ष र अप्रत्यक्ष कथन ।´

ट) ले बाट द्वारा प्रथम विभक्ति हुन सक्छन्
ले , बाट , द्वारा प्रथम विभक्ति हुन सक्छन् ।

ठ) मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन यो सुक्ति देवकोटाको हो
“मानिस ठुलो दिलले हुन्छ , जातले हुँदैन ।” यो सुक्ति देवकोटाको हो ।

ड) हरि तिमी के गर्दै छौ
हरि! तिमी के गर्दै छौ ?

३. उचित लेख्य चिह्न प्रयोग गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस्।

ओहो! भोलि त परीक्षाफल प्रकाशित हुने दिन। मेरो जिपिए कति आउने होला ? व्यर्थै परीक्षा नजिकिँदा पनि फुटबल खेल्ने भएछु। बुबाले सम्झाउँदै भन्नु भएको थियो, “पढाइ पहिलो कुरा हो, अनि मात्र अरू कुरा आउँछन्।” तर त्यतिबेला वास्ता गरिनँ। राम, हरि, गोपाल र शिवले कर गरेपछि खेल्नै पर्‍यो। न फुटबल जितियो, न पढाइमा ध्यान दिन सकियो। धत! अब चिन्ता गरेर के फाइदा ? “निर्णयमा गल्ती गरे पछुताउनुपर्छ,” गुरुज्यूले भन्नुभएको थियो। खैर, जे भयो भयो। अब यस्तो नगर्ने निर्णय गर्छु। (बत्ती निभाउँछ र सुत्छ)

४. दिइएका चिह्नहरु प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् :

ओहो! भोलि त परीक्षाफल प्रकाशित हुने दिन । मेरो जिपिए कति आउने होला ? व्यर्थै परीक्षा आउने बेलामा पनि फुटबल खेल्ने भइटोपलेको । बुबाले त सम्झाउँदै हुनुहुन्थ्यो ,” पढाइ पहिलो कुरा अनिमात्र अरु कुरा आउँछन् ” भनेर तर त्यतिबेला वास्ता गरिएन । राम, हरि, गोपाल र शिवले कर गरेपछि खेल्नै पर्यो । न त फुटबल नै जितियो न त पढाइमा नै ध्यान दिन सकियो तर के नै बिगारेको छु र । ( कोल्टे फेर्दै ) धत! अब चिन्ता गरेर के फाइदा र । ” निर्णय गर्न गल्ती गरे पछुताउनु पर्छ” गुरुले भन्नुभएको थियो । त्यस्तै भएजस्तो छ, खैर जे भयो भयो । अब चाहिँ यस्तो नगर्नुपर्ला । ( बत्ती निभाउँछ र सुत्छ )

Important Questions
Comments
Discussion
0 Comments
  Loading . . .