त्यो फेरि फर्कला ?
By Notes Vandar
शब्दभण्डार
१. तल दिइएका शब्दहरूको विपरीत अर्थसँग जोडा मिलाउनुहोस्।
सुदूर = निकट
कृतज्ञता = कृतघ्नता
वेदना = खुसी
प्रदीप्त = अन्धकार
अतीत = भविष्य
मूक = सस्वर
प्रवाह = स्थिर
२. गाढा शब्दको अर्थ पहिचान गरी चिनो लगाउनुहोस्।
क) निरन्तर
ख) बेवास्ता
ग) असजिलोपन
घ) मन ठेगानमा नभएको अवस्था
ङ) धेरै समयदेखि पर्खिएको
च) सुनसान
३. दिइएका अर्थका पर्यायवाची शब्द पाठबाट खोजेर लेख्नुहोस्।
क) असजिलोपन = सङ्कोच
ख) सुक्खा = शुष्क
ग) लजालु = लज्जावन्त
घ) रुवाइ = रुदन
ङ) पर्खाइ = प्रतीक्षा
च) धुलोपीठो = चूर्णविचूर्ण
छ) व्यक्त नभएको = अव्यक्त
ज) वज्रभन्दा पनि = बज्रादपी
४. पाठमा रहेको “जाने बखतमा ………… त्यो आएन।” कथांश पढी दिइएका प्रश्नहरूको उत्तर दिनुहोस्।
क) “ता” प्रत्यय लागेका चारवटा शब्द लेख्नुहोस्।
उदासिनता, शून्यता, प्रसन्नता र उत्फुल्लता।
ख) चारवटा उपसर्गबाट बनेका शब्द पहिचान गरी लेख्नुहोस्।
दुष्कल्पना, असुविधा, प्रकार र प्रदीप्त।
ग) यस् अनुच्छेदमा प्रयोग भएका दसओटा तत्सम शब्दहरूको सूची बनाउनुहोस्।
यात्री, भयानक, प्रतीक्षा, शून्य, आशा, भावना, दुष्कल्पना, नित्य, प्रकार र प्रदीप्त।
५. शब्दकोशको सहायता लिई दिइएका शब्दहरूको अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस्।
पर्यन्त
अर्थ: अन्तिम सीमा
वाक्य: आश्रममा जीवन पर्यन्त शिक्षा र सीपका कार्यक्रम सञ्चालन गरिन्छ।
निस्तब्ध
अर्थ: सुनसान
वाक्य: निस्तब्ध जंगलमा अचानक बाँसुरीको आवाज सुनियो।
उद्विग्न
अर्थ: चिन्तित
वाक्य: बाली नष्ट भएको देखेर बुबा उद्विग्न हुनुभयो।
उल्लास
अर्थ: आनन्द
वाक्य: साथीहरूसँगको यात्राले मलाई धेरै उल्लास दियो।
क्लान्त
अर्थ: थाकेको
वाक्य: धेरै काम गरेपछि आमा क्लान्त देखिनुहुन्थ्यो।
शिथिल
अर्थ: थकित
वाक्य: दिनभर पढेपछि म शिथिल भएको छु।
मधुरिमा
अर्थ: मिठास
वाक्य: उसको स्वरको मधुरिमाले सबैलाई आकर्षित गर्यो।
विषद्
अर्थ: फराकिलो
वाक्य: आमाको मनमा सन्तानप्रति विषद् माया हुन्छ।
सामन्जस्य
अर्थ: मेलमिलाप
वाक्य: समाजमा सामन्जस्य हुनु आवश्यक छ।
उत्सर्ग
अर्थ: त्याग
वाक्य: लक्ष्य प्राप्तिका लागि केही इच्छाहरू उत्सर्ग गर्नुपर्छ।
अभ्यन्तर
अर्थ: भित्री मन
वाक्य: उसले अभ्यन्तर मनबाट सत्य बोलेको थियो।
विलुप्त
अर्थ: लोप भएको
वाक्य: धेरै पुराना परम्पराहरू आज विलुप्त हुँदै गएका छन्।
बोध र अभिव्यक्ति
१. “त्यो फेरि फर्केला ?” कथा पढी दिइएका प्रश्नहरूको उत्तर दिनुहोस्।
क) कथा कति अनुच्छेदमा संरचित छ ?
कथा ५२ अनुच्छेदमा संरचित छ।
ख) कथाको सबैभन्दा लामो अनुच्छेद कुन हो ?
कथाको सबैभन्दा लामो अनुच्छेद ३८ औँ अनुच्छेद हो।
ग) कथाको कुन अनुच्छेदमा पुग्दा सानी र यात्रीको भेट हुन्छ ?
कथाको ४४ औँ अनुच्छेदमा पुग्दा सानी र यात्रीको भेट हुन्छ।
घ) संवाद प्रयोग नभएका अनुच्छेद कति छन् ?
कथामा संवाद प्रयोग नभएका अनुच्छेद १८ ओटा छन्।
२. “त्यो फेरि फर्केला ?” कथा पढी दिइएका घटनाक्रम मिलाई लेख्नुहोस्।
ख) एक दिन साँझको समयमा एउटा यात्री आएर यहाँ बास पाइन्छ कि भनेर सानीलाई सोध्नु।
च) सानीकी आमाले यात्रीलाई बास बस्न अनुमति दिनु।
झ) आमाको स्वीकृति पाएपछि यात्री बास बस्ने निश्चित हुन्छ र सानी खुसी हुनु।
ठ) यात्रीको बासका लागि सानी सक्रिय भएर लाग्नु र भित्रभित्रै यात्रीप्रति आकर्षित हुनु।
क) यात्री सुतेपछि सानी यात्रीका कल्पनामा डुबुल्की मार्नु।
ण) अनायास सानी यात्री सुतेको ठाउँमा पुग्नु र यात्री निश्चिन्त सुतिरहेको हुनु।
घ) यात्री बिदा भएर गएपछि सानीले प्रत्येक दिन यात्रीलाई सम्झिनु।
ग) समयक्रममा सानीको विवाह हुनु।
ङ) पन्ध्रौँ दिनसम्म सानी उत्साहपूर्वक प्रतीक्षा गर्नु तर यात्री नफर्कनु।
छ) सानीकी आमाको मृत्यु भएपछि सानी माइत आएर आमाकै पेसा अँगालेर बस्नु।
ज) एक दिन अचानक त्यहीँ यात्री आएर फेरि बास माग्नु।
ञ) कुराकानीका क्रममा सानीले प्राणपर्यन्तसम्म पर्खेको यात्रीले तिमी त बुढी भइसकिछ्यौ भन्नु।
ढ) बिहान हुनेबित्तिकै यात्री पहिले झैँ हिँड्नु।
ड) सानीले आफूले मात्र यात्रीको प्रतीक्षा गरेको र यात्रीले कुनै प्रेमभाव नराखेको कुरा थाहा पाउनु।
ट) यसरी सानीको दीर्घ प्रतीक्षा समाप्त हुनु।
३. “विचारधारा अर्कैतिर … ओछ्यानमा लडी।” कथांशका प्रश्नहरूको उत्तर दिनुहोस्।
क) सानी किन निस्तब्ध भई ?
यात्रीको श्रीमती होला भन्ने सोच आएपछि सानी निस्तब्ध भई।
ख) यात्री सुतेको देखेपछि सानीलाई कस्तो लाग्यो ?
यात्री सुतेको देखेपछि सानीलाई डर मिसिएको लोभ महसुस भयो।
ग) टुकी बाल्दा सानीलाई किन डर लाग्यो ?
आमा वा यात्रीले देख्लान् कि भनेर सानीलाई डर लाग्यो।
घ) सानीको मनोदशा कसरी परिवर्तन भएको छ ?
यात्रीप्रतिको आकर्षण व्यक्त गर्न नसके पनि उसलाई नहेरी नहुने उत्सुकताले सानीको मनोदशा परिवर्तन भएको छ।
४. दिइएका कथांशका प्रश्नहरूको उत्तर दिनुहोस्।
क) सानीको प्रतीक्षाले के देखाउँछ ?
सानीको प्रतीक्षाले उसको अव्यक्त प्रेम, दबिएको चाहना र मानसिक द्वन्द्वलाई स्पष्ट रूपमा देखाउँछ। एक रातका लागि बास बस्न आएको यात्रीप्रति सानीको मनमा अचानक प्रेमभाव जागृत हुन्छ तर त्यो प्रेम उसले खुला रूपमा व्यक्त गर्न सक्दिन। यात्रीप्रतिको एकतर्फी प्रेमका कारण सानीको मनमा निरन्तर आशा, डर र बेचैनी उत्पन्न हुन्छ। यही प्रतीक्षाले सानीको अवचेतन मनमा रहेको इच्छा, आकर्षण र दमित भावनालाई उजागर गरेको छ। यसरी सानीको प्रतीक्षा केवल यात्रिको प्रतीक्षा मात्र नभई उसको अधूरो चाहना र अपूरो प्रेमको प्रतीक बनेको छ।
ख) सानीको जीवनमा देखिएका उतारचढावहरू लेख्नुहोस्।
सानीको जीवनमा धेरै प्रकारका मानसिक, भावनात्मक र मनोवैज्ञानिक उतारचढावहरू देखिन्छन्। युवा अवस्थामै यात्रीप्रति आकर्षित भएपछि उसमा प्रेम, आशा र मोहको भावना जागृत हुन्छ। तर यात्री नफर्कँदा निराशा, छटपटी र बेचैनीले उसलाई घेर्छ। विवाह भएपछि पनि सानीले त्यो यात्रीलाई भुल्न सक्दिन, जसका कारण उसको वैवाहिक जीवनमा पनि मानसिक द्वन्द्व देखिन्छ। जीवनको उत्तरार्धसम्म पनि उसमा आशा बाँकी रहन्छ तर अन्ततः यात्रीको उदासीन व्यवहारले सानी पूर्ण रूपमा निराश हुन्छे। यसरी सानीको जीवन प्रेम, आशा, मोह, कुण्ठा, निराशा र मानसिक पीडाले भरिएको उतारचढावपूर्ण जीवनका रूपमा प्रस्तुत गरिएको छ।
५. व्याख्या गर्नुहोस्।
क) समस्त जगतमा … रहन जान्थ्यो।
प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा समावेश मनोवैज्ञानिक कथा “त्यो फेरि फर्केला ?” बाट लिइएको हो। यस कथाका लेखक भवानी भिक्षु हुन्। यस गद्यांशमा नारीको ममता, प्रेम, त्याग र सहनशीलताको महत्त्वलाई गहिरो रूपमा प्रस्तुत गरिएको छ। कथाकारले नारीलाई ममताको खानीका रूपमा चित्रण गरेका छन्। नारीकै कारण परिवार, समाज र संसारमा प्रेम, अपनत्व र सहकार्यको भावना कायम रहन्छ।
नारीले आफ्ना व्यक्तिगत इच्छा, आकाङ्क्षा र चाहनालाई दबाएर पनि परिवार र समाजका लागि निरन्तर त्याग गरिरहेकी हुन्छे। सानीको चरित्रमार्फत पनि यही कुरा देखाइएको छ। विवाह भएर परिवारको जिम्मेवारी पूरा गरिरहँदा पनि सानीले सबैप्रति माया र ममता देखाएकी छे। उसले आफ्नो दुःख, पीडा र चाहनालाई मनमै राखेर अरूको सुखका लागि जीवन बिताएकी छे।
यदि संसारमा नारीको ममता नहुने हो भने परिवार टुट्ने, समाज विखण्डित हुने र संसार प्रेमविहीन बन्ने थियो। त्यसैले कथाकारले नारीको ममताले नै संसारलाई जीवन्त, सुन्दर र भावनात्मक बनाएको छ भन्ने सन्देश दिएका छन्। यस गद्यांशले नारीको भूमिका कति महान् छ भन्ने कुरा प्रभावकारी रूपमा स्पष्ट गर्छ।
ख) प्रेम जीवनको … अस्तित्वको विलुप्ति।
यो गद्यांश पनि भवानी भिक्षुद्वारा लिखित “त्यो फेरि फर्केला ?” कथाबाट साभार गरिएको हो। यस गद्यांशमा प्रेमको आवश्यकता, महत्त्व र मानव जीवनमा यसको भूमिकालाई गहिराइमा प्रस्तुत गरिएको छ। कथाकारका अनुसार प्रेम बिना जीवन अधुरो र निरस हुन्छ। प्रेम नै मानव जीवनको मूल आधार हो।
मानिस जन्मिएदेखि नै आमाको प्रेमबाट जीवनको सुरुवात गर्छ। बाल्यकालमा पारिवारिक प्रेम, युवावस्थामा साथीभाइ र जीवनसाथीको प्रेम, र समाजबाट पाइने प्रेमले मानिसको जीवनलाई अगाडि बढाउँछ। यदि मानिसले जीवनमा प्रेम नपाएमा ऊ एक्लोपन, निराशा र मानसिक पीडामा फस्छ। प्रेम नपाउँदा मानिसको आत्मविश्वास कमजोर हुन्छ र उसको अस्तित्व नै संकटमा पर्न सक्छ।
यस कथामा सानीले यात्रीप्रति गरेको एकतर्फी प्रेम जीवनभर बोकेकी छे। उसले प्रेमका लागि धेरै त्याग गरेकी छे तर बदला स्वरूप प्रेम पाएकी छैन। अन्ततः यात्रीबाट प्रेम नपाएको यथार्थ बुझेपछि सानी मानसिक रूपमा पूर्ण रूपमा थकित र निराश हुन्छे। यसै सन्दर्भबाट कथाकारले प्रेम जीवनको मूल आधार हो र प्रेम नपाउँदा मानिसको अस्तित्व नै विलुप्त हुँदै जान्छ भन्ने सन्देश दिएका छन्।
यसरी यो गद्यांशले प्रेमको अनिवार्यता र प्रेमविहीन जीवनको पीडालाई सानीको जीवनमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
७. उत्तर दिनुहोस् :
क) दिइएका सन्दर्भका आधारमा सानीको चरित्र चित्रण गर्नुहोस्।
सानी
सानी “त्यो फेरि फर्केला ?” कथाकी प्रमुख नारी पात्र तथा केन्द्रीय चरित्र हो। सम्पूर्ण कथावस्तु सानीको जीवन, भावना र मानसिक अवस्थाको वरिपरि घुमेको छ। कथाकारले सानीको माध्यमबाट नारीको अवचेतन मन, दबिएको चाहना र एकतर्फी प्रेमबाट उत्पन्न मानसिक अवस्थालाई प्रस्तुत गरेका छन्। सानीको चरित्रलाई निम्न आधारमा चित्रण गर्न सकिन्छ।
(अ) कथागत भूमिका
सानी यस कथाकी मुख्य पात्र हो। कथा सुरुदेखि अन्त्यसम्म सानीकै जीवनसँग सम्बन्धित घटनाहरू प्रस्तुत भएका छन्। सानी छोरी, बुहारी, पत्नी र प्रेमिकाको रूपमा देखिन्छे। एक रात बास बस्न आएको यात्रीप्रति आकर्षित भएपछि सानीको जीवनमा आएको परिवर्तन नै कथाको मूल विषय बनेको छ। त्यसैले सानी कथाको केन्द्रमा रहेको प्रभावशाली पात्र हो।
(आ) पारिवारिक स्थिति
सानी विवाहअघि माइतमा आमासँगै बस्छे र भट्टी पसल चलाएर जीवनयापन गर्छे। उसको पारिवारिक अवस्था निम्नवर्गीय छ। आमासँगको सम्बन्ध स्नेहपूर्ण छ। विवाहपछि ऊ पोइको घर जान्छे र पारिवारिक जिम्मेवारी पूरा गर्छे। परिवारप्रति कर्तव्यनिष्ठ भए पनि सानीको मन यात्रीबाट टाढा हुन सक्दैन।
(इ) शारीरिक स्थिति
सानी भर्खरै यौवन अवस्थामा प्रवेश गरेकी युवती हो। उसको शरीर पुष्ट छ र अनुहार वान्की मिलेको छ। युवावस्थामा आकर्षक देखिए पनि समय बित्दै जाँदा उसमा बुढ्यौलीका संकेतहरू देखिन थाल्छन्। अन्त्यतिर यात्रीले तिमी त बुढी भइसकिछ्यौ भनेपछि सानी यथार्थसँग साक्षात्कार गर्छे।
(ई) मानसिक स्थिति
सानीको मानसिक अवस्था कथाको सबैभन्दा महत्वपूर्ण पक्ष हो। यात्रीप्रति एकतर्फी प्रेम भएकाले ऊ निरन्तर मानसिक द्वन्द्वमा बाँचेकी छे। आशा, डर, छटपटी, कुण्ठा र निराशाले उसको मन भरिएको छ। प्रेम व्यक्त गर्न नसक्दा ऊ दबिएको चाहनाको सिकार बनेकी छे। अन्त्यमा सत्य बुझेपछि ऊ मानसिक रूपमा थकित, शिथिल र विक्षिप्त अवस्थामा पुग्छे।
(उ) आर्थिक स्थिति
सानीको आर्थिक अवस्था कमजोर छ। पहाडी विकट स्थानमा सानो होटल वा भट्टी पसल चलाएर जीवन निर्वाह गर्नुपरेको छ। होटलमा कहिलेकाहीँ मात्र यात्रु आउने भएकाले आम्दानी सीमित छ। आर्थिक अभावका बाबजुद पनि सानी आत्मसम्मानका साथ जीवन बिताउन प्रयास गर्छे।
ख) “त्यो फेरि फर्केला ?” कथाले कस्तो मनोविज्ञान प्रस्तुत गरेको छ ?
“त्यो फेरि फर्केला ?” कथा भवानी भिक्षुद्वारा रचिएको एक यौन मनोवैज्ञानिक कथा हो। यस कथामा कथाकी प्रमुख नारी पात्र सानीको मनभित्र लुकेको अवचेतन अवस्था, अतृप्त इच्छा, दबिएको चाहना र मानसिक द्वन्द्वलाई गहिरो रूपमा प्रस्तुत गरिएको छ। कथाकारले सानीको चरित्रमार्फत मानिसको मनमा रहेका दबिएका भावना र इच्छाहरू कसरी व्यवहारमा प्रकट हुन्छन् भन्ने कुरा देखाएका छन्।
यस कथामा सानीको जीवनमा एक रातका लागि बास बस्न आएको यात्रीले ठूलो मानसिक प्रभाव पार्छ। त्यो प्रभाव सानीको चेतन मनमा होइन, अवचेतन मनमा बस्छ। यही अवचेतन मनमा रहेको इच्छा समयसँगै आशा, कल्पना, प्रतीक्षा र निराशाका रूपमा प्रकट हुन्छ। कथाले मानिसको अवचेतन मनमा रहेका इच्छा र आकाङ्क्षा दबिएर बस्दा कसरी मानसिक बेचैनी, छटपटी र कुण्ठाको रूप लिन्छन् भन्ने कुरा स्पष्ट पारेको छ।
यस कथामा नारीमनका यौनजन्य भावना र आकर्षणलाई अश्लील रूपमा होइन, मनोवैज्ञानिक र यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ। सानीको प्रेम स्वस्थ, भावनात्मक र एकतर्फी छ तर व्यक्त हुन नसक्दा उसमा मानसिक समस्या उत्पन्न हुन्छ। यसले नारीमनका दबिएका चाहनाले उनीहरूको जीवन र सोचाइमा कस्तो प्रत्यक्ष असर पार्छ भन्ने कुरा देखाउँछ।
कथामा यौनआकाङ्क्षाले मानिसको व्यवहार, सोच र निर्णयमा कस्तो प्रभाव पार्छ भन्ने विषय पनि प्रस्तुत गरिएको छ। सानीको प्रतीक्षा, कल्पना र निरन्तर आशाले उसको सम्पूर्ण जीवन प्रभावित भएको देखिन्छ। प्रेम एकतर्फी हुँदा मानिसले मानसिक पीडा भोग्नुपर्छ भन्ने मनोविज्ञानलाई कथाकारले सानीको माध्यमबाट प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्।
समग्रमा “त्यो फेरि फर्केला ?” कथाले नेपाली नारीहरूको दबिएको, कुण्ठित र अव्यक्त मनोविज्ञानलाई सजीव रूपमा प्रस्तुत गरेको छ। यस कथाले मानव मनको गहिराइ, अवचेतन प्रभाव र एकतर्फी प्रेमबाट उत्पन्न मानसिक अवस्थालाई मनोवैज्ञानिक दृष्टिले स्पष्ट रूपमा उजागर गरेको छ।
ग) “त्यो फेरि फर्केला ?” कथामा सामाजिक, आर्थिक र प्राकृतिक परिवेशको चित्रण कसरी गरिएको छ ?
“त्यो फेरि फर्केला ?” भवानी भिक्षुद्वारा लेखिएको एक उत्कृष्ट मनोवैज्ञानिक कथा हो। यस कथामा प्रमुख नारी पात्र सानीको अवचेतन मन, अतृप्त इच्छा र मानसिक उतारचढावलाई केन्द्रमा राखेर सामाजिक, आर्थिक र प्राकृतिक परिवेशलाई यथार्थपरक ढङ्गले चित्रण गरिएको छ। कथाकारले परिवेशलाई केवल पृष्ठभूमिका रूपमा नभई पात्रको मनोविज्ञानसँग जोडेर प्रस्तुत गरेका छन्।
सामाजिक परिवेश
यस कथामा राणाकालीन समाजको सामान्य जनजीवनको चित्रण गरिएको छ। मधेशबाट यात्रुहरू चितलाङको बाटो हुँदै काठमाडौँ आउने प्रसङ्गले त्यतिबेलाको यातायात व्यवस्था र समाजको अवस्था देखाउँछ। ग्रामीण समाजमा एकल महिलाको जीवन कष्टकर रहेको, नारीले धेरै सामाजिक दबाब र सीमामा बाँचेको अवस्था सानीको जीवनबाट प्रस्ट हुन्छ। विवाह, नारीको भूमिका र सामाजिक मूल्य मान्यताले सानीको जीवनलाई बाँधेको देखिन्छ।
आर्थिक परिवेश
कथामा आर्थिक असमानताको यथार्थ चित्रण गरिएको छ। सानी र उसकी आमाले पहाडी विकट स्थानमा सानो होटल वा भट्टी पसल चलाएर जीवन निर्वाह गरेका छन्। धनी वर्गले सुविधा सम्पन्न होटल खोले पनि गरिब वर्गले सानो पसलबाट जीवन गुजार्नुपरेको अवस्था देखिन्छ। कहिलेकाहीँ मात्र यात्रु आउने भएकाले सानीको आर्थिक अवस्था कमजोर छ। यसले ग्रामीण समाजको गरिबी, वर्गीय विभेद र आर्थिक संघर्षलाई उजागर गर्छ।
प्राकृतिक परिवेश
यस कथामा प्राकृतिक परिवेश अत्यन्त सुन्दर र मनमोहक रूपमा चित्रण गरिएको छ। सामाजिक र आर्थिक रूपमा पछि परेको समाज भए पनि प्राकृतिक रूपमा स्वच्छ, शान्त र रमणीय देखिन्छ। हरियाली डाँडाकाँडा, वनपाखा, खोलानाला, स्वच्छ वातावरण, प्रदूषणरहित प्रकृति र हिमालमा पर्ने सूर्यका सुनौलो किरणले कथा जीवन्त बनेको छ। प्राकृतिक सुन्दरता सानीको एकान्त जीवन र भावनासँग मेल खाएको देखिन्छ।
यसरी “त्यो फेरि फर्केला ?” कथामा सामाजिक, आर्थिक र प्राकृतिक परिवेशलाई सानीको जीवन र मनोविज्ञानसँग जोडेर प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ।
घ) “त्यो फेरि फर्केला ?” कथाको शीर्षक सार्थकता पुष्टि गर्नुहोस्।
“त्यो फेरि फर्केला ?” भवानी भिक्षुद्वारा लेखिएको एक उत्कृष्ट मनोवैज्ञानिक कथा हो। यो कथाको शीर्षक कथावस्तु, पात्रको मानसिक अवस्था र केन्द्रीय भावसँग पूर्ण रूपमा मेल खाने भएकाले शीर्षक अत्यन्त सार्थक देखिन्छ। शीर्षकले नै कथाको मूल भावना र सानीको मनोदशालाई संकेत गर्छ।
कथामा सानीको जीवन एक रात बास बस्न आएको यात्रीसँग जोडिन्छ। यात्रीप्रति सानीको मनमा अचानक प्रेमभाव जागृत हुन्छ। यात्री भोलिपल्ट नै हिँडेर गए पनि सानीको मन त्यहीँ अड्किन्छ। ऊ निरन्तर यही प्रश्नमा बाँच्छे कि त्यो यात्री फेरि फर्केला कि फर्कँदैन। यही प्रतीक्षा, आशा र अनिश्चितताले उसको सम्पूर्ण जीवन प्रभावित हुन्छ।
विवाह भएर पोइको घर गएपछि पनि सानीले त्यो यात्रीलाई भुल्न सक्दिन। अर्काकी श्रीमती बनेपछि पनि उसले यात्री फर्किएर आफूलाई लैजाला भन्ने आशा मनमा पालिरहेकी हुन्छे। उसको सम्पूर्ण मानसिक संघर्ष यही प्रतीक्षामा केन्द्रित हुन्छ। अन्ततः जीवनको उत्तरार्धमा यात्री पुनः आए पनि सानीको प्रेम एकतर्फी मात्र भएको थाहा हुन्छ र उसकी प्रतीक्षा समाप्त हुन्छ। यससँगै कथानक पनि टुंगिन्छ।
कथाको सुरुदेखि अन्त्यसम्म सानीको मनमा उठिरहने एउटै प्रश्न “त्यो फेरि फर्केला ?” नै कथाको केन्द्र हो। यही प्रश्नले कथालाई अगाडि बढाएको छ र अन्त्यमा उत्तर पनि दिएको छ। त्यसैले कथाको केन्द्रीय मर्मअनुसार राखिएको “त्यो फेरि फर्केला ?” शीर्षक पूर्ण रूपमा उपयुक्त, अर्थपूर्ण र सार्थक देखिन्छ।
८. आफ्नो घरमा बास बस्न आइपुगेको यात्रीका लागि सानीले गरेको दीर्घ प्रतीक्षा तपाईँलाई कस्तो लाग्यो ? कथात्मक सन्दर्भका आधारमा विश्लेषण गर्नुहोस्।
प्रस्तुत प्रश्न कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा समावेश मनोवैज्ञानिक कथा “त्यो फेरि फर्केला ?” सँग सम्बन्धित छ। यस कथाका लेखक भवानी भिक्षु हुन्। यस कथामा प्रमुख नारी पात्र सानीको अवचेतन मनमा रहेको अतृप्त चाहना, दबिएको प्रेमभाव र मानसिक उतारचढावलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। कथाकारले नारी मनोविज्ञानलाई सानीको जीवनमार्फत यथार्थपरक रूपमा देखाएका छन्।
यस कथामा तराईबाट काठमाडौँ जाने क्रममा चितलाङ नजिकको मार्खुमा रहेको सानीको सानो होटलमा एक उमेर मिल्दो युवा यात्री बास बस्न आउँछ। सानी पहिलो नजरमै त्यो यात्रीप्रति आकर्षित हुन्छे। त्यो आकर्षण सामान्य मात्र नभई उसको मनमा गहिरो प्रभाव पार्ने खालको हुन्छ। यात्री भोलिपल्ट नै आफ्नो गन्तव्यतर्फ लागे पनि सानीको मन भने त्यहीँ अड्किन्छ। त्यसपछि सानी निरन्तर यही आशामा बाँच्छे कि त्यो यात्री फेरि फर्केला।
यात्री नफर्कँदा पनि सानीको प्रतीक्षा समाप्त हुँदैन। ऊ दिनहुँ यात्री आउने बाटोतिर हेर्छे र कल्पनामा उसैसँग जीवन बिताउने सपना देख्छे। विवाह भएर पोइको घर गएपछि पनि सानीले त्यो एक रात बास बस्न आएको यात्रीलाई भुल्न सक्दिन। वैवाहिक जीवनमा बाँधिए पनि उसको मन यात्रिसँगै जोडिएको देखिन्छ। यसले सानीको प्रेम एकतर्फी र अव्यक्त भए पनि कति गहिरो थियो भन्ने कुरा स्पष्ट हुन्छ।
सानीले गरेको दीर्घ प्रतीक्षा मलाई उमेरसँगै आएको पहिलो प्रेम जस्तो लाग्छ। यौवनावस्थामा प्रवेश गर्दा मनमा पलाउने प्रेमभाव निकै गहिरो र प्रभावशाली हुन्छ। त्यस्तो प्रेमले जीवनभर मानिसको सोच, भावना र व्यवहारमा असर पार्छ। सानीको जीवन पनि यही कुराको उदाहरण हो। उसले आफ्नो सम्पूर्ण जीवन यात्रिको प्रतीक्षामा बिताएकी छे, जसले उसको मानसिक जीवनलाई गम्भीर रूपमा प्रभावित गरेको छ।
अन्ततः यात्रिको पुनरागमनले पनि सानीको प्रेमलाई कुनै अर्थ नदिँदा उसकी प्रतीक्षा समाप्त हुन्छ। यसले देखाउँछ कि एकतर्फी प्रेम र दीर्घ प्रतीक्षाले मानिसलाई मानसिक रूपमा थकित र पीडित बनाउँछ। यसरी सानीले गरेको दीर्घ प्रतीक्षा भावनात्मक, मार्मिक र यथार्थपरक लाग्छ, जसले किशोरावस्थामा भएको प्रेमले जीवनभर प्रभाव पार्छ भन्ने सत्यलाई पुष्टि गर्छ।
९. दिइएका अनुच्छेद पढी कुनै चारवटा प्रश्न निर्माण गर्नुहोस्।
१) हरियाले हातमा के लिएर उभिरहेको थियो ?
२) सलाम कसलाई छोडेर कहाँ र किन गएको थियो ?
३) बुधन करिस्माको छेउमा गएर के गर्यो ?
४) यस अनुच्छेदमा प्रयोग भएका मानव र जनावरका नाम लेख्नुहोस्।
१०. दिइएको अनुच्छेद पढी अन्त्यमा सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्।
क) मनोविज्ञान के हो ?
मनोविज्ञान भन्नाले मानिसको मन, मनोभाव र मानसिक व्यवहारको अध्ययन गर्ने विज्ञान हो भन्ने बुझिन्छ।
ख) व्यक्ति कस्तो वातावरण निर्माण गर्न खोज्छ ?
व्यक्तिले आफ्नो रुचि, चाहना र आवश्यकताअनुसारको वातावरण निर्माण गर्न खोज्छ।
ग) सामाजिक र भौतिक वातावरणले मनोविज्ञानमा कसरी प्रभाव पार्छ ?
सामाजिक र भौतिक वातावरणले उत्तेजनाको रूपमा काम गर्ने भएकाले यी वातावरणले व्यक्तिको मनोविज्ञानमा प्रत्यक्ष प्रभाव पार्छन्।
घ) “संवेग” र “तज्जन्य” शब्दको अर्थ लेख्नुहोस्।
संवेग = आवेग
तज्जन्य = तत्काल उत्पन्न भएको
व्याकरण
३. दिइएका शब्दहरू शुद्ध पारेर सार्नुहोस्।
तापनि, प्रतीक्षा, सम्मुख, भरिया, सुकुल, क्रीडा, चौथाइ, शृङ्खला, सुदूर, निर्जीव, अभिशप्त, उद्विग्न, अतीत, नैराश्य, समष्टि, नीरव, कष्टप्रद, निस्तब्ध, अविराम, विश्वास, विवाह, चञ्चल, सामञ्जस्य, अङ्ग, चूर्ण, यस्तै, हृदय, क्षीण, प्रत्यक्ष, जिज्ञासा, संस्कृति, भण्डार, दुष्कल्पना, उत्साह, गृहिणी, अनन्तकालीन, वज्रप्रहार, अभ्यन्तर।
४. दिइएका शब्दहरू शुद्ध र अशुद्ध छुट्याउनुहोस्।
शुद्ध शब्दहरू
भाउजू, तनहुँ, कति, कोशी, चरिनङ्ग्रे, शिरीष, क्लिष्ट, राष्ट्रिय, इन्साफ, सङ्घ, सम्बन्ध, क्षत्रिय, कृत्रिम, सन्देश, शुभ।
अशुद्ध शब्दहरू
जेठाजू, पुर्बेली, बर्षेनी, उर्दु, हात्ति, जुलुश, विभुति, आशिर्वाद, केन्द्रिय, प्रशंशा, माथी, वाकस, इन्द्रेणी, किर्तीपुर, बिकास, वाधा, वेरुजु, छ्यमा, एसरी, कर्तव्वे, एस, रिण, पृय, सहीद, लान्छना, बृहत, सभासद।
अशुद्ध शब्दहरूको शुद्ध रूप
जेठाजू, पूर्वेली, वर्षेनी, उर्दू, हात्ती, जुलुस, विभूति, आशीर्वाद, केन्द्रीय, प्रशंसा, माथि, बाकस, इन्द्रेनी, कीर्तिपुर, विकास, बाधा, बेरुजु, क्षमा, यसरी, कर्तव्य, यस, ऋण, प्रिय, सहिद, लाञ्छना, वृहत्, सभासद्।
५. वर्णविन्यास मिलाई पुनर्लेखन गर्नुहोस्।
अ) वायुमण्डलको संरचनामा भूमिका निर्वाह गर्ने ग्यासहरूको अनुपातमा फेरबदल र मुख्यतः कार्बनडाइअक्साइडको मात्रा बढ्नाले पृथ्वीको तापक्रम बढ्न थालेको छ।
आ) त्यो तृष्णा, त्यो अनन्तकालीन प्रतीक्षा, त्यो दिनहुँको अभ्यस्त निराशाको धक्का त्यसको सासमा मिसिएको थियो।
इ) यसै प्रकारले नित्य नयाँ नयाँ कल्पनाहरूले त्यसको आशालाई प्रदीप्त तुल्याउँदै दिनहरू बित्दै गए। अन्ततः त्यो चिरअभिप्सित पन्ध्रौँ दिन पनि आयो।
६. पदयोग र पदवियोग मिलाई पुनर्लेखन गर्नुहोस्।
अ) भरियाले डोकाबाट भाँडाहरू झिकिसकेको थियो। सानीले माथिबाट तुरुन्तै एउटा सानो पित्तलको गाग्री ल्याइदिई। त्यो समेत लिएर भरिया खोलातिर गयो।
आ) हुनसक्छ यतै कतै हलो जोतिरहेको होला अथवा घाँस खुर्किरहेको होला। नभन्दै सिमलको आडबाट परिछन टुप्लुक्क देखा पर्यो। जोत्दै गरेको हलगोरु अड्याएर ऊ हस्याङफस्याङ गर्दै मतिर लम्कँदै थियो।
इ) यात्री चाहिने बिहानै उठेर गइहाल्यो। सानीका आँखामा आइसकेका र छचल्किरहेका मूक मोह र कुन्नि कस्ता अव्यक्त आकाङ्क्षाहरू त्यसलाई निकै टाढासम्म पहाडको टुप्पासम्म पुर्याई फर्के। कुन्नि केले हो उसको मन भारी हुँदै आयो। हृदयमा आर्द्र भावनाहरूको गह्रुङ्गो प्रवाह बग्न थाल्यो र उसको भित्री मनमा लगातार एउटा प्रश्न उम्लन थाल्यो “त्यो फेरि फर्कला ?”