संस्कृतिको नयाँ यात्रा

By Notes Vandar

शब्दभण्डार

१. उस्तै अर्थ आउने शब्दहरूको जोडा मिलाउनुहोस् ।

प्रतिष्ठा : इज्जत
एकाकार : एकै किसिमको
उत्पीडन : पीडा दिइएको
विद्रोह : ठूलो विरोध
कार्यान्वयन : विधिपूर्वक व्यवहारमा ल्याउने काम
प्रवाहशील : निरन्तर बगिरहने

२. दिइएका अर्थ मिल्ने पदावलीहरू पाठबाट खोजेर लेख्नुहोस् ।

क) जीवनलाई पवित्र पार्ने काम : जीवनबोध
ख) समुद्रको जहाजमा बसेर यात्रा गर्ने : नाविक यात्रा
ग) एउटै मात्र संस्कृति : एकल संस्कृति
घ) यात्रालाई प्रत्यक्ष हेर्ने दर्शक : यात्राको साक्षी
ङ) सांस्कृतिक हिसाबले प्राप्त गर्ने न्याय : सांस्कृतिक न्याय
च) विचलित नहुने यात्रा : अविचलित यात्रा
छ) सबैको हक लाग्ने सन्तति : साझा सन्तति

३. शब्दकोश हेरेर दिइएका शब्दहरूको अर्थ लेख्नुहोस् ।

स्मृति : स्मरण, सम्झना
जिज्ञासा : कुनै कुरा जान्ने इच्छा
जीववैज्ञानिक : जीवविज्ञानसम्बन्धी अध्ययन गर्ने व्यक्ति
प्रगति : उन्नति, विकास
सामेल : भेला हुनु, सहभागी हुनु
दमन : दबदबाउ, चिचोमिचो
मनुष्यत्व : मनुष्य हुनुको भाव, मानवता
दमित : दमन गरिएको, दबाइएको
बाहिष्कार : निष्कासन, खारेजी

४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।

उदात्त
सबैका आ–आफ्ना आमाबाबुप्रति उदात्त भावना हुन्छ।

अनुभूति
मलाई विज्ञान विषय रोज्नुको गहिरो अनुभूति भएको छ।

सुनिश्चितता
सरकारले कक्षा ११ को पाठ्यक्रम अझै सुनिश्चित गरेको छैन।

दमक
हाम्रो समाजमा अझै पनि गरिबमाथि दमक गरिन्छ।

पङ्खफुका
यस्तो कठिन समयमा हामीले पङ्खफुका गर्नु हुँदैन।

निर्मित
राम मन्दिरमा रामको मूर्ति निर्माण गरिएको छ।

न्यायपूर्ण
हामीले सधैँ न्यायपूर्ण व्यवहार गर्नुपर्छ।

अविचलित
हामी अविचलित भएर काम गर्यौँ भने एक दिन अवश्य सफल हुनेछौँ।

५. दिइएका विषयक्षेत्रका शब्दहरू खोजेर लेख्नुहोस् ।

क) नेपाली चाडपर्वहरू
तिज, दशैं, तिहार, पूर्णिमा, ल्होसार, माघी आदि।

ख) नेपाली नृत्यहरू
साकेला, लाखे, देउडा, सोरठी आदि।

ग) नेपालका भाषाहरू
नेपाली, मैथिली, भोजपुरी, थारु, कुमाले, माझी, नेवारी आदि।

घ) नेपाली पोसाकहरू
दौरा–सुरुवाल, ढाकाटोपी, चोली, पटुका, धोती आदि।

ङ) नेपाली खानाका स्थानीय परिकारहरू
दाल, भात, रोटी, तरकारी, अचार, खीर आदि।

बोध र अभिव्यक्ति

२. दिइएका प्रश्नहरूको उत्तर दिनुहोस्।

क) माथिको पाठ कति अनुच्छेदमा संरचित छ?
माथिको पाठ आठ अनुच्छेदमा संरचित छ।

ख) पाठको दोस्रो अनुच्छेदमा कुन विषयलाई मुख्य भाव वा विचार बनाइएको छ?
पाठको दोस्रो अनुच्छेदमा जीवनयात्राको क्रममा बहुजातीयतामा फक्रेको नेपाली कला र संस्कृतिलाई मुख्य भावका रूपमा प्रस्तुत गरिएको छ।

ग) पाठको छैटौँ अनुच्छेदमा कस्ता विषयवस्तु प्रस्तुत गरिएको छ?
पाठको छैटौँ अनुच्छेदमा संस्कृतिका नाममा देखिने विकृति र विभेदको अन्त्य हुनुपर्ने आवश्यकता प्रस्तुत गरिएको छ।

घ) निबन्धको पाँचौँ अनुच्छेदमा कतिवटा वाक्य छन्?
निबन्धको पाँचौँ अनुच्छेदमा बाइस वटा वाक्य छन्।

३. पाठको अन्तिम अनुच्छेदका आधारमा पाँच वटा प्रश्न बनाउनुहोस्।
विरगञ्जमा कस्तो खालको संस्कृति पाइन्छ?
‘वसुधैव कुटुम्बकम्’ को अर्थ के हो?
निबन्धकारको स्मृतिमा के कुरा ताजा छ?
हामी कस्तो संस्कृति निर्माणको चरणमा छौँ?
नयाँ पुस्ताले कस्तो उज्यालो भविष्य देखेको छ?

४. पाठको आधारमा उपयुक्त विकल्प छानी खाली ठाउँ भर्नुहोस्।
जब म यो नै संस्कृति हो भनेर बुझ्न थालेँ, त्यतिबेलासम्म यी पर्व मेरो जीवन र मनोविज्ञानमा सदैव रहिरहेका छन्।
नेपालको लामो इतिहास र सभ्यताले निर्माण गरेका यी साझा संस्कृति मेरै संस्कृति थिए।
मनुष्य जीवनको सार्थकता भन्नु नै चेतना हो।
मैले यस यात्रामा सामेल भएर आवाज दिएँ।
मनुष्यको मनुष्यत्व र मानवको मानवता नै सबैभन्दा ठूलो कुरा हो।

५. “जीवन एउटा प्रवाहशील …तरखरमा थिएँ” निबन्धांशका प्रश्नहरूको उत्तर दिनुहोस्।

क) जीवनलाई किन यात्रा भनिएको हो?
‘संस्कृतिको नयाँ यात्रा’ सुधा त्रिपाठीद्वारा लेखिएको एक आत्मपरक निबन्ध हो जसमा लेखिकाले जीवनलाई निरन्तर चलिरहने प्रक्रियाका रूपमा चित्रण गरेकी छन्। जीवन कहिल्यै स्थिर हुँदैन, यसमा समयसँगै अनेक मोड, परिवर्तन र अनुभवहरू आइरहन्छन्। जसरी नदी निरन्तर बगिरहन्छ र कहिल्यै एउटै स्थानमा अडिँदैन, त्यसैगरी जीवन पनि सुख र दुःख, सफलता र असफलता, आशा र निराशाका विभिन्न चरण पार गर्दै अघि बढ्छ। मानिस जन्मदेखि मृत्युसम्म विभिन्न अनुभव संकलन गर्दै अगाडि बढ्ने भएकाले जीवनलाई यात्रा भनिएको हो। यस यात्रामा मानिसले आफूलाई परिपक्व बनाउँदै जीवनको अर्थ खोज्ने प्रयास गर्छ, त्यसैले जीवन एउटा प्रवाहशील यात्रा हो।

ख) अनुच्छेदका आधारमा ‘म’ पात्रलाई चिनाउनुहोस्।

निबन्धमा प्रस्तुत ‘म’ पात्र लेखिकाकै प्रतिनिधि पात्र हुन्। उनी नेपालको पूर्वी पहाडी भेगको एक दुर्गम गाउँमा जन्मेकी महिला हुन्। शिक्षाको खोजीमा उनी गाउँबाट काठमाडौँ सहर पुग्छिन् र त्यहाँ रहँदा उनले विभिन्न संस्कृति, भाषा र जीवनशैली नजिकबाट अवलोकन गर्ने अवसर पाउँछिन्। ‘म’ पात्रले आफ्नो जीवनलाई विभिन्न यात्राका चरणसँग तुलना गरेकी छन्। उनले आफूलाई फुलबारीको एउटा सानो बिरुवाको रूपमा उभ्याएकी छन्, जो समयसँगै हुर्कँदै, फुल्दै र फल्दै जाने प्रक्रियामा छ। यसरी ‘म’ पात्र शिक्षित, सचेत, अनुभूतिशील र संस्कृतिप्रति संवेदनशील व्यक्तित्वको रूपमा प्रस्तुत भएकी छन्।

ग) नेपाली जीवनलाई किन विविधताको सुन्दर साङ्लो भनिएको हो?

नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश हो जहाँ विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिका मानिसहरू एक आपसमा मिलेर बसेका छन्। यिनै विविधताबीच आपसी सद्भाव, सहिष्णुता र एकता कायम हुनु नै नेपाली जीवनको विशेषता हो। काठमाडौंको नेवार संस्कृति, तराईको मधेसी संस्कृति, पहाड र हिमालका किराँत, शेर्पा, मगर, थारु जस्ता विविध संस्कृतिहरू एउटै राष्ट्रभित्र एकीकृत भएर बसेका छन्। यी सबै संस्कृतिहरू एक अर्कासँग गाँसिएर एउटा सुन्दर साङ्लो बनेका छन्। यही कारण नेपाली जीवनलाई विविधताको सुन्दर साङ्लो भनिएको हो।

घ) अनुच्छेदमा नेपालका कुन–कुन संस्कृति उल्लेख छन्?

निबन्धको अनुच्छेदमा नेपालका विभिन्न भूगोल र जातीय पहिचानसँग सम्बन्धित संस्कृतिहरू उल्लेख गरिएको छ। काठमाडौं उपत्यकाको नेवार संस्कृति, मुस्ताङको थकाली संस्कृति, पूर्वी भेगको किराँत संस्कृति, उत्तरी क्षेत्रको शेर्पा संस्कृति, तराई–मधेसको मधेसी संस्कृति, पश्चिमी भेगको मगर र थारु संस्कृति साथै दार्चुला, कर्णाली हुँदै काठमाडौँ उपत्यकादेखि कञ्चनजङ्घाको काखसम्म फैलिएका विविध संस्कृतिहरूको उल्लेख गरिएको छ। यी सबै संस्कृति मिलेर नेपालको साझा सांस्कृतिक पहिचान निर्माण भएको देखाइएको छ।

६. निबन्धांशका आधारमा उत्तर लेख्नुहोस्।

अ) जीवनमा आलोचनात्मक हुन के गर्नुपर्छ?
जीवनमा आलोचनात्मक हुन सबैभन्दा पहिले प्रश्न गर्ने बानी बसाल्नुपर्छ। प्रश्न नगरी कुनै पनि कुरा स्वीकार गर्दा मानिस अन्धविश्वासी बन्न सक्छ। प्रश्न गर्दा तथ्य बाहिर आउँछ र तथ्यबाट सत्यको बोध हुन्छ। आलोचनात्मक सोचले मानिसलाई विवेकशील, सचेत र तर्कशील बनाउँछ। यसले सही र गलत छुट्याउने क्षमता विकास गर्छ। त्यसैले जीवनमा आलोचनात्मक हुन हरेक विषयलाई बुझेर, विश्लेषण गरेर र तर्कका आधारमा निर्णय गर्ने बानी बसाल्नुपर्छ।

आ) निबन्धांशमा कस्तो संस्कृतिको परिकल्पना गरिएको छ?
निबन्धांशमा विभेदरहित, न्यायपूर्ण र समतामूलक संस्कृतिको परिकल्पना गरिएको छ। कुनै पनि व्यक्ति वर्ण, रङ, जात, धर्म, वर्ग वा लिङ्गका आधारमा विभेदमा पर्नु नपरोस् भन्ने भावना यस निबन्धमा स्पष्ट देखिन्छ। सबैको मूल्य, मान्यता र पहिचानलाई सम्मान गर्ने, शान्त, सुन्दर र साझा संस्कृतिको निर्माण गर्नुपर्ने सन्देश दिइएको छ। यस्तो संस्कृतिले मात्र समतामूलक र सभ्य समाजको निर्माण गर्न सक्छ भन्ने विचार प्रस्तुत गरिएको छ।

७. निबन्धांशका आधारमा उत्तर दिनुहोस्।

अ) संस्कृति भनेको के हो?
संस्कृति भनेको कुनै समाज वा राष्ट्रको पहिचान, जीवनशैली, सोचाइ, मान्यता, विश्वास र व्यवहारको समग्र रूप हो। यसले मानिस को हो भन्ने कुरा चिनाउँछ। भाषा, भेषभूषा, चालचलन, पर्व, परम्परा र जीवन पद्धतिले संस्कृति निर्माण गर्छन्। नेपाली संस्कृतिले हामी नेपाली हौँ भन्ने मौलिक पहिचान दिन्छ। त्यसैले संस्कृति हाम्रो जीवनको आत्मा हो।

आ) संविधानले सुनिश्चित गरेका सांस्कृतिक विषय के–के हुन्?
नेपालको संविधानले संस्कृतिका नाममा हुने कुनै पनि प्रकारका विभेदको अन्त्य गर्ने व्यवस्था गरेको छ। वर्ण, रङ, जात, धर्म, वर्ग, लिङ्ग र सम्प्रदायका आधारमा हुने विभेदलाई गैरकानुनी ठहर गरिएको छ। साथै प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने अधिकार सुनिश्चित गरिएको छ। यसरी संविधानले सांस्कृतिक अधिकारलाई मौलिक अधिकारका रूपमा स्वीकार गरेको छ।

८. उत्तर लेख्नुहोस्।

क) नेपालमा के कस्ता सांस्कृतिक विविधता छन्?
नेपाल सांस्कृतिक विविधताले भरिएको सुन्दर देश हो। यहाँ विभिन्न जातजाति, भाषा, धर्म, भेषभूषा, चालचलन र परम्पराहरू एकआपसमा मिसिएर बसेका छन्। काठमाडौं उपत्यकाको नेवार संस्कृति, मुस्ताङको थकाली संस्कृति, पूर्वी पहाडी भेगको किराँत संस्कृति, उत्तरी हिमाली क्षेत्रको शेर्पा संस्कृति, तराई–मधेसको मधेसी संस्कृति तथा पश्चिमी भेगको मगर र थारु संस्कृतिले नेपालको सांस्कृतिक पहिचानलाई समृद्ध बनाएका छन्। यिनै विविध संस्कृतिहरूले नेपाललाई बहुसांस्कृतिक राष्ट्रका रूपमा चिनाएका छन्। फरक–फरक संस्कृतिका बाबजुद पनि नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना देखिन्छ, जसले नेपाली संस्कृति अझ सुन्दर र गौरवपूर्ण बनेको छ।

ख) श्रम र संस्कृति कसरी अन्तरसम्बन्धित छन्?
श्रम र संस्कृति एक अर्कासँग गहिरो रूपमा जोडिएका छन्। मानिसले श्रम गरेर जीवन यापन गर्छ र यही श्रमसँगै उसको जीवनशैली विकास हुन्छ। श्रमिक वर्गको दैनिक जीवन, व्यवहार, सोचाइ र मूल्य मान्यताबाट संस्कृति जन्मन्छ। किसानको कृषि संस्कृति, मजदुरको श्रम संस्कृति, लोकजीवनसँग जोडिएका लोकगीत, लोकनृत्य र लोककथा सबै श्रमकै उपज हुन्। श्रमले मानिसलाई आत्मनिर्भर बनाउँछ र त्यसबाट सिर्जित संस्कार तथा परम्पराले संस्कृतिलाई जीवन्त बनाउँछ। त्यसैले श्रम बिना संस्कृति फक्रन सक्दैन र संस्कृति बिना श्रमको पहिचान हुँदैन। यसरी श्रम र संस्कृति एक अर्काको पूरकका रूपमा अन्तरसम्बन्धित छन्।

ग) न्यायपूर्ण संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ?
न्यायपूर्ण संस्कृतिको निर्माणका लागि सबैभन्दा पहिले समाजमा विद्यमान विभेद हटाउनुपर्छ। वर्ग, जात, धर्म, लिङ्ग, रङ वा भूगोलका आधारमा हुने भेदभाव समाज र राज्य दुबैका लागि घातक हुन्छन्। संविधानले महिला र पुरुषलाई समान अधिकार दिएको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन आवश्यक छ। सबै समुदायको भाषा, संस्कृति र पहिचानलाई समान सम्मान दिनुपर्छ। साथै शिक्षा, चेतना र कानुनी सचेतनाको माध्यमबाट मानिसमा समानताको भावना विकास गर्नुपर्छ। जब समाजका हरेक व्यक्ति समान अवसर र अधिकारका साथ अघि बढ्न पाउँछन्, तब मात्र न्यायपूर्ण संस्कृतिको निर्माण सम्भव हुन्छ।

९. व्याख्या गर्नुहोस् :

क) “नेपालको लामो इतिहास र सभ्यताको निर्माण गरेका यी साझा संस्कृति मेरै संस्कृति थिए, मेरो देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरु एकै फुलबारीका साझा फुलहरु थिए । ” व्याख्या गर्नुहोस्।

प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तक अन्तर्गत पर्ने ‘संस्कृतिको नयाँ यात्रा’ नामक आत्मपरक निबन्धबाट साभार गरिएको हो। यस निबन्धका लेखिका सुधा त्रिपाठी हुन्। यस निबन्धमा लेखिकाले ‘म’ पात्रको माध्यमबाट आफ्नो जीवनयात्रा र सांस्कृतिक अनुभूतिको चित्रण गरेकी छन्। उनले जीवनलाई एक गतिशील यात्राका रूपमा व्याख्या गर्दै नेपाली समाजमा विद्यमान सांस्कृतिक विविधता र त्यसभित्रको एकतालाई सशक्त रूपमा प्रस्तुत गरेकी छन्।

उक्त वाक्यांशमार्फत लेखिकाले नेपालका विभिन्न भूगोल, जात, भाषा र संस्कृतिले निर्माण गरेको साझा पहिचानप्रति आफ्नो अपनत्व प्रकट गरेकी छन्। दार्चुलादेखि कञ्चनजङ्घाको काखसम्म फैलिएका विविध संस्कृति कुनै एक व्यक्ति, जात वा समुदायका मात्र नभई सम्पूर्ण नेपालीका साझा सम्पत्ति हुन् भन्ने भाव यसमा व्यक्त गरिएको छ। काठमाडौंको नेवार संस्कृति, मुस्ताङको थकाली संस्कृति, पूर्वको किराँत, उत्तरको शेर्पा, तराईको मधेसी, पश्चिमको मगर र थारु संस्कृति सबै मिलेर नेपालको सांस्कृतिक फुलबारी बनेको छ।

लेखिकाले ती सबै संस्कृतिलाई एउटै फुलबारीका फरक–फरक फूलको रूपमा चित्रण गरेकी छन्। जसरी फुलबारीमा विभिन्न रंग र सुगन्धका फूलहरूले सौन्दर्य बढाउँछन्, त्यसैगरी विविध संस्कृतिले नेपालको राष्ट्रिय पहिचानलाई समृद्ध बनाएका छन्। आफू पनि ती फूलहरूमध्ये एक भएको स्वीकार गर्दै लेखिकाले सांस्कृतिक विविधताभित्रको एकता र राष्ट्रिय एकताको भावना सशक्त रूपमा व्यक्त गरेकी छन्।

यसरी प्रस्तुत गद्यांशले नेपाली समाजको सांस्कृतिक सहअस्तित्व, आपसी सद्भाव र साझा पहिचानलाई उजागर गर्दै विविधतामा एकताको सन्देश दिएको छ।

ख) “संस्कृतिका नाममा………… गरिने भेद विकृति हुन्।” व्याख्या गर्नुहोस्।

प्रस्तुत गद्यांश पनि ‘संस्कृतिको नयाँ यात्रा’ निबन्धबाट लिइएको हो, जसका लेखक सुधा त्रिपाठी हुन्। यस वाक्यांशमार्फत लेखिकाले संस्कृतिको सही अर्थ र प्रयोगप्रति गम्भीर सन्देश दिन खोजेकी छन्। संस्कृतिको उद्देश्य मानव जीवनलाई परिष्कृत, सभ्य र मानवीय बनाउनु हो, तर संस्कृतिका नाममा गरिने विभेद त्यसको ठीक उल्टो कार्य हो भन्ने कुरा यसमा स्पष्ट गरिएको छ।

नेपाल जस्तो बहुजातीय र बहुसांस्कृतिक समाजमा संस्कृतिका नाममा जातीय, लैङ्गिक, धार्मिक, वर्गीय वा भौगोलिक विभेद गरिनु समाजका लागि अत्यन्त घातक विकृति हो। कतिपय रूढीवादी सोच, अन्धविश्वास र परम्परागत मान्यताले अझै पनि मानिसलाई समान अधिकारबाट वञ्चित गरिरहेको पाइन्छ। यस्ता विभेदलाई संस्कृति भनेर स्वीकार गर्नु मानवता र सामाजिक न्यायको अपमान हो।

लेखिकाले संस्कृतिका नाममा हुने यस्ता विभेदले समाजलाई पछाडि धकेल्ने, असमानता बढाउने र मानवताको मूल्य घटाउने कार्य गर्छन् भन्ने स्पष्ट पारेकी छन्। त्यसैले संस्कृतिको नाममा हुने भेदभावलाई अन्त्य गरी समानता, न्याय र सहिष्णुतामा आधारित संस्कृतिको निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।

यसरी ‘संस्कृतिका नाममा गरिने भेद विकृति हुन्’ भन्ने कथनले समाजमा विद्यमान सांस्कृतिक विकृतिप्रति चेतावनी दिँदै न्यायपूर्ण, समतामूलक र मानवीय संस्कृतिको पक्षमा सशक्त आवाज उठाएको छ।

१०. समीक्षात्मक उत्तर लेख्नुहोस्।

क) नेपालमा विद्यमान संस्कृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस्।

सुधा त्रिपाठीद्वारा रचित ‘संस्कृतिको नयाँ यात्रा’ निबन्धमा मुख्यतया नेपाली संस्कृतिका सबल पक्षलाई केन्द्रमा राखी त्यससँगै विद्यमान दुर्बल पक्षहरू पनि औँल्याइएको छ। नेपाल भौगोलिक, जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र लैङ्गिक विविधताले भरिएको मुलुक हो। यति धेरै विविधताबीच पनि नेपाली समाजमा सहिष्णुता, सद्भाव र आपसी सम्मान कायम रहनु नै हाम्रो संस्कृतिको सबल पक्ष हो। विभिन्न जातजाति र समुदायका मानिसहरू आपसी समझदारीका साथ एकै समाजमा बसोबास गर्दै आएका छन्। लामो समयदेखि चली आएको विविधतालाई स्वीकार गर्दै त्यसलाई अपनत्व दिनु नेपाली संस्कृतिको प्रमुख शक्ति हो।

तर संस्कृतिको विकासक्रममा केही दुर्बल पक्षहरू पनि देखिन्छन्। संस्कृतिका नाममा गरिने विभेद, बहिष्कार, असमानता र रूढीवादी सोचले समाजलाई अझै पनि प्रभावित पारेको छ। कतिपय समुदाय, वर्ग र लिङ्ग अझै पनि समान अधिकारबाट वञ्चित छन्। यस्ता विकृतिहरू आजको आधुनिक समाजमा पनि पूर्ण रूपमा समाप्त भएका छैनन्। यिनै विभेद, असमानता र बहिष्कार नै नेपाली संस्कृतिका दुर्बल पक्ष हुन्। तथापि, दुर्बल पक्षहरूभन्दा सबल पक्षहरू प्रबल भएकै कारण नेपाली संस्कृति आजसम्म जीवित, गतिशील र समृद्ध रहन सफल भएको छ।

ख) “सांस्कृतिक रूपमा न्यायपूर्ण समाजले मात्र समतामूलक समाजको निर्माण गर्न सक्छ” विवेचना गर्नुहोस्।

यस विचारलाई ‘संस्कृतिको नयाँ यात्रा’ निबन्धमा साहित्यकार सुधा त्रिपाठीले गहिरो रूपमा प्रस्तुत गरेकी छन्। नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा विभिन्न किसिमका सामाजिक र सांस्कृतिक विकृतिहरू विद्यमान छन्। संस्कृति समाज र राष्ट्रको धरोहर हो, तर यदि संस्कृतिमा समानता र न्याय छैन भने समाजले प्रगति गर्न सक्दैन। महिला भएकै कारण अपहेलित हुनु, गरिब भएकै कारण सांस्कृतिक पहुँच नपाउनु, ग्रामीण क्षेत्रमा बसोबास गर्ने भएकै कारण अवसरबाट वञ्चित हुनु जस्ता समस्याहरू समाज विकासका प्रमुख बाधक हुन्।

हामी बसोबास गर्ने पृथ्वी साझा हो र हाम्रा भावना पनि साझा हुन्। त्यसैले संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ, भूगोल, जाति वा धर्मका आधारमा गरिने विभेद पूर्ण रूपमा विकृति हुन्। यस्ता विकृतिहरूलाई संविधानले पनि मान्यता दिएको छैन। संविधानले सुनिश्चित गरेका समान अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सके मात्र सबै वर्ग र समुदायले न्याय पाउँछन्। त्यसैले सांस्कृतिक रूपमा सबैलाई समान सम्मान र अवसर दिने समाजले मात्र वास्तविक समतामूलक समाजको निर्माण गर्न सक्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ।

११. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्।

क) संस्कृतिभित्र के के लुकेका हुन्छन्?
संस्कृतिभित्र कुनै पनि जातजातिका लवाइखवाइ, भेषभूषा, भाषा, दर्शन, मान्यता, विश्वास, चालचलन र जीवनशैली लुकेका हुन्छन्। यिनै तत्त्वहरूले कुनै समाज वा समुदायको पहिचान निर्माण गर्छन्।

ख) बहुजातीय मुलुकका के कस्ता विशेषता हुन्छन्?
बहुजातीय मुलुकमा सांस्कृतिक विविधता, सांस्कृतिक सम्पन्नता, जातीय पृथकता, जातीय सद्भाव, राष्ट्रिय एकता तथा धार्मिक र सांस्कृतिक मेलजोल जस्ता विशेषता पाइन्छन्। यस्ता मुलुकहरू विविधताभित्रको एकताको उत्कृष्ट उदाहरण हुन्छन्।

ग) “संस्कृति मधुरस हो, सभ्यता धार हो” भन्नाको तात्पर्य के हो?
यस भनाइको तात्पर्य के हो भने संस्कृति र सभ्यता एक अर्कामा निर्भर हुन्छन्। जसरी धार बिना मधुरस सुरक्षित रहन सक्दैन, त्यसैगरी सभ्यता बिना संस्कृति पनि फक्रन सक्दैन। नेपालीहरूको साझा सभ्यता र संस्कृति एक आपसमा मेल खाएकै कारण नेपाल मधुरसले भरिएको मौरीको घार जस्तै सुन्दर र समृद्ध बनेको छ भन्ने अर्थ यस कथनले दिन्छ।

घ) ‘पृथक्ता’ र ‘अभ्यागत’ शब्दको अर्थ लेख्नुहोस्।
पृथक्ता भन्नाले भिन्नता भन्ने अर्थ बुझिन्छ।
अभ्यागत भन्नाले पाहुना वा अतिथि भन्ने अर्थ बुझिन्छ।

१२. दिइएको अनुच्छेद पढी चारवटा मुख्य बुँदाहरू टिप्नुहोस् र एक तृतीयांशमा सार लेख्नुहोस्।

दिइएको अनुच्छेदले पुर्खाको विगत र हाम्रो वर्तमान व्यवहार नै भोलिका सन्तानको सांस्कृतिक धरोहर बन्ने कुरा स्पष्ट गरेको छ। आमाबुबा, गुरु, पाहुना र वनस्पतिलाई देवत्वकरण गरी सम्मान गर्ने संस्कृति हाम्रो अमूल्य निधि भएको देखाइएको छ। छोराछोरीलाई संस्कारयुक्त शिक्षा दिएमा संस्कार र संस्कृतिको संरक्षण हुने सन्देश दिइएको छ। परोपकारी बनाउने संस्कार र संस्कृति हाम्रो जीवनको प्राण भएकाले यसको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

यस अनुच्छेदको सार के हो भने पुर्खाबाट प्राप्त संस्कार र हाम्रो वर्तमान व्यवहारले भविष्यको सांस्कृतिक आधार निर्माण गर्छ। सम्पत्तिभन्दा संस्कारयुक्त शिक्षा महत्त्वपूर्ण हुन्छ। आमाबुबा, गुरु, पाहुना र प्रकृतिप्रति आदर गर्ने संस्कृति हाम्रो अमूल्य सम्पत्ति हो। परोपकार र मानवता हाम्रो संस्कृतिको आत्मा भएकाले यसको संरक्षण गर्नु सबैको कर्तव्य हो।

दिइएको अनुच्छेदको शब्द सङ्ख्या : १६२
एक तृतीयांश शब्द सङ्ख्या : ५४
सारांश शब्द सङ्ख्या : ५४

व्याकरण अभ्यास

पदवर्ग : नाम

१. दिइएको अनुच्छेद पढी नाम वर्गका शब्दको पहिचान गर्नुहोस्।
हुल, भिक्षु, स्तूप, परिक्रमा, सहर, भीमसेन, स्तम्भ, मञ्जु, स्वयम्भू, प्राङ्गण, बुवा, खुशी, व्यक्ति, नारायणहिटी, दरबार, सिंहदरबार, हनुमानढोका, एयरपोर्ट, कीर्तिपुर, महिमा, काठमाडौं, दृश्य, हात, प्रसाद, झोला, बाँदर।

२. दिइएका शब्दहरूबाट एउटै उपवर्गमा पर्ने नामहरूको सूची बनाउनुहोस्।

व्यक्तिवाचक नामका :  गोपाल, काठमाडौं, कर्णाली, रामायण, मुनामदन, तिहार, होली, तिज, धरमपुर, दशैं हुन्।
जातिवाचक नामका : फूल, गाई, माछो, किताब, घर, विद्यालय, जुत्ता, औंठी, टोपी, साइकल, कार हुन्।
समूहवाचक नामका : वथान, लहर, चाङ, खात, फौज, झुप्पो हुन्।
द्रव्यवाचक नामका : रगत, कुहिरो, ढुङ्गा, माटो, सुन, चाँदी, चामल, पानी, शोभिता, तेल हुन्।
भाववाचक नामका : रिस, बसाइ, चोरी, युद्ध, मूर्ख्याइँ, प्रेम, घृणा, मानवता, शिक्षा, पढाइ, जवानी, गरिबी, बाल्यावस्था हुन्।

३. दिइएको अनुच्छेदबाट बीसवटा नाम शब्द टिप्नुहोस्।
नेपाल, पर्व, नारी, रूप, गौरा, महिला, व्रत, भगवान्, शिव, पार्वती, पूजा, सुख, समृद्धि, कामना, नदी, घर, पोखरी, चना, गहुँ, मकै।

४. पाठको पहिलो अनुच्छेदमा रहेका नाम शब्दहरू टिप्नुहोस्।
बाल्यकाल, दशैं, स्मृति, हृदय, नेपाल, पहाड, गाउँ, संस्कृति, महिना, बुबा, आमा, झरना, कोसी, नदी, लेखनाथ, बाढी, झरी, पहिरो, हिलो, धर्ती, पुर्खा, लुगा, पिङ, खाना, केरा, कुराउनी, मासु, चिउरा, परिकार, दक्षिणा, बालिका, तिहार, खुशी, जीवन।

पदवर्ग : सर्वनाम

१. दिइएको अनुच्छेदमा नामको सट्टामा उपयुक्त सर्वनाम प्रयोग गरी पुनर्लेखन गर्नुहोस्।

क) आमाबुबाले छोराछोरीलाई पढ्नका लागि धनगढी पठाए। उनीहरू त्यहाँ बसेर धेरै पढे। छोरी पढिसकेपछि गाउँ फर्की। उसले गाउँमा एउटा विद्यालय खोली। केही वर्षपछि छोरो पनि गाउँमै फर्क्यो। उसले पनि त्यस विद्यालयमा पढाउन थाल्यो। आमाबुबा खुशी हुनुभयो।

ख) मेरी छोरी ज्ञानुले व्यवस्थापनमा स्नातक गरिन्। उनी आफ्नो गाउँ गइन्। उनले गाउँमा उद्योग खोलिन्। उद्योगमा धेरै मानिसले जागिर पाए। उनीहरूको आर्थिक स्थिति सुध्रियो।

२. दिइएका सर्वनामलाई मिल्दोजुल्दो उपवर्गमा वर्गीकरण गर्नुहोस्।

प्रथम पुरुषवाचक सर्वनाम : म, हामी हुन्।
द्वितीय पुरुषवाचक सर्वनाम : तँ, तिमी, तपाईं, तपाईंहरू हुन्।
तृतीय पुरुषवाचक सर्वनाम : ऊ, त्यो, उनी, उनीहरू, उहाँ, उहाँहरू हुन्।
दर्शकवाचक सर्वनाम : यो, यी, यिनीहरू, त्यो, ती, तिनीहरू हुन्।
सम्बन्धवाचक सर्वनाम : जो, जे, जुन, जेसुकै, जोसुकै, जुनसुकै हुन्।
प्रश्नवाचक सर्वनाम : को, के, कुन, केही, कोही, कुनै हुन्।
निजवाचक सर्वनाम : आफू, आफैं, स्वयं, निज, अरू हुन्।

३. दिइएको गद्यांशबाट दशवटा सर्वनाम टिप्नुहोस्।
म, हामी, तिमी, उनीहरू, तपाईं, को को, ऊ, जोसुकै, तँ, यस, आफैं।

४. दिइएका सर्वनामलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्।
त्यो : राम घर गएकाले त्यो आज स्कुल आएन।
तिनीहरु : सीता र गीता घरमै थिए, फेरि तिनीहरू पढ्न किन आएनन्।
यी : यी भ्रष्टाचारी नेताहरूले गर्दा आज देशमा अशान्ति फैलिएको छ।
स्वयम्  : आफ्नो अधिकारका लागि आफू स्वयं लड्नुपर्छ।
जे : तिमीलाई जे इच्छा लाग्छ, तिमी त्यही गर।
को : तिमी को हौ, मैले त चिनेको छैन।
के: तिमी खानामा के खान्छौ।
आफू : परिवर्तन गर्न पहिला आफूबाट सुरु गर्नुपर्छ।
उहाँ : बुबालाई खाना खान बोलाएको उहाँ अझै आउनुभएको छैन।
कोही : साथीहरूलाई खेल्न बोलाएको कोही पनि आएनन्।
प्रत्येक : हामी प्रत्येक नेपालीको मनमा आफ्नो देशप्रति सम्मान हुनुपर्छ।
अरु : हामीले अरूको देखासिकी गर्नु हुँदैन।
सबै : हाम्रो देश नेपाल नेपालीहरूको साझा फुलबारी भएकाले सबैले यसको संरक्षण गर्नुपर्छ।
केही : तिमी बिरामी छौ, त्यसैले केही बासी खानेकुरा नखाऊ।
हजुर : बुबा यहाँ पो हुनुहुँदो रहेछ, मैले त हजुरलाई घरमा खोजिरहेको थिएँ।

पदवर्ग – विशेषण

१. दिइएको गद्यांशबाट विशेषण शब्द पहिचान गरी लेख्नुहोस् ।

एक, दुईटा, त्यस, एउटा, ठूलो, चलाख, कमजोर, धूर्त, मेरा, यो, धमिलो, प्रिय, सफा, सानो

२. दिइएका पदावलीबाट विशेषण शब्द छानी तिनलाई उपवर्गमा वर्गीकरण गर्नुहोस् ।

क) गुणबोधक विशेषण
सेतो, बलियो, गतिलो, बुझक्कड, चढ्दो, शीतल, सांस्कृतिक, नैतिक, मलिलो

ख) सङ्ख्याबोधक विशेषण
लाखौं, पाँच, सयौं, सप्त

ग) परिमाणबोधक विशेषण
प्रशस्त, अलिकति, थोरै, सबै

घ) सार्वनामिक विशेषण
यो, त्यो, यी, ती

ङ) भेदक विशेषण
उसको, मेरो, तिम्रो

३. दिइएको अनुच्छेदबाट दशओटा विशेषण शब्द पहिचान गरी टिपोट गर्नुहोस् ।

मेरो, सेता, हरियो, उर्वरशील, विविध, अनेक, सयौं, मेहनती, यस, वीर, स्वच्छ, प्राकृतिक, नेपालको

४. ‘संस्कृतिको नयाँ यात्रा’ निबन्धबाट पाँचवटा विशेषण शब्द टिप्नुहोस् ।

मेरो, एक, निलो, मीठो, यी, दुर्गम, गतिशील, साझा, सबै, वास्तविक, हाम्रो, नयाँ

पदवर्ग – क्रिया

१. दिइएको गद्यांशबाट क्रियापद पहिचान गरी लेख्नुहोस् ।

झुके, बने, सकेनन्, सजिए, बनेनन्, सकेनौँ, पोलिए, बद्लिए, बहकिए, मिसिए, लरबरियो, रह्यो

२. दिइएका क्रियापद प्रयोग गरी आफूलाई मनपर्ने विषयमा छोटो अनुच्छेद लेख्नुहोस् ।

मेरो भाइले सरकारी जागिर खान्छ। उसले सरकारी स्कुलमै पढ्यो। अहिले भाइ विद्यालयमा पढाउन गएको छ। ऊ असल शिक्षक बनी नाम कमाओस् भन्ने मेरो चाहना छ। भाइ विद्यालयबाट कतिखेर आउला भनी म उसको पर्खाइमा बसेको थिएँ। भाइ विद्यार्थीहरूसँगै बाटोमा हिँड्दै थियो भनेर श्यामले भन्न नपाउँदै आँगनमा टुप्लुक्क आइपुगेको भाइले श्याम झुट बोल्छ भनी रिसाएजस्तो गर्दा श्याम त डराएर जुरुक्कै उठेछ

३. दिइएका क्रियापदलाई मिल्दो उपवर्गमा वर्गीकरण गर्नुहोस् ।

१. अर्थप्रधानताका आधारमा

क) मुख्य क्रिया
सुन्छ, पढ्छ, हाँस्छ, भयो, रुँदै, हुन्छ, ल्याउँछ, बनाउँछ, आइ, गएको, हुनु, उम्रँदै, वाङ्गिन्छ, भुतभुताउनु, छापेको, फरफरायो, कलकलाउँछ, लेख्छ, दियो, पढ्ने, भएको, भिजाउँदै, गर्दछौं, सुनिन्छ

ख) सहायक क्रिया
छ, हाल्छ, सक्यो, पगे, हो, थियो, छन्, सकेछ

२. बनोटका आधारमा

क) सरल क्रिया
सुन्छ, पढ्यो, ल्याउँछ, सक्यो, बनाउँछ, भयो, खोज्यौँ, वाङ्गिन्छ, फरफरायो, कलकलाउँछ, लेख्छ, दियो, गर्दछौ, सुनिन्छ

ख) जटिल क्रिया
भनिहाल्छ, रुँदै छ, आइसक्यो, आइपुगे, गएको हुने छ, उम्रँदै छ, भुतभुताएको छ, छापेको थियो, पढ्ने छ, भएको छ, भिजाउँदै छ, लेखिसकेछ

३. कर्मका आधारमा

क) सकर्मक क्रिया
सुन्छ, पढ्यो, ल्याउँछ, बनाउँछ, खोज्यौ, लेख्छ, दियो, पढ्ने छ, भिजाउँदै छ, गर्दछौ

ख) अकर्मक क्रिया
हाँस्छे, दगुर्छन्, रुँदै छ, आइसक्यो, छ, हो, उम्रँदै छ, फरफरायो, कलकलाउँछ, भएको छ, सुनिन्छ

४. दिइएको अनुच्छेदबाट बाह्रओटा क्रिया टिप्नुहोस् ।

पर्दै छ, भएको छ, ल्यायो, हरायो, बगायो, पुर्‍यायो, आएछ, सुन्छु, हेर्छु, छुन्छ, रुवाउँछ, पर्छन्, बन्दछ

५. ‘संस्कृतिको नयाँ यात्रा’ निबन्धको दोस्रो अनुच्छेदबाट पन्ध्रओटा क्रियापद टिप्नुहोस् ।

हो, रहेछौ, रहेछ, पुगेँ, भयो, थालेँ, पाएँ, मनाउँथ्यौ, मनाउँथे, गाउँथे, गर्थे, बताउँथे, भएँ, बुझेँ, गरेँ, थिए

Important Questions
Comments
Discussion
0 Comments
  Loading . . .